। प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य गरेका छन् । दिउँसो ३ बजेपछि सपथग्रहण गर्नेगरि मन्त्रिहरु थपिने भएका छन् । नेपालको ४० औँ प्रधानमन्त्रीका रुपमा गएको जेठ २३ गते प्रधानमन्त्रीमानिर्वाचित भएका देउवाले जेठ २४ गते ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । डेड महिनापछि आज मन्त्रिमंडल विस्तार गर्न लागेका हुन् ।
आज नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम र नेकपा संयुक्त लगायत दलबाट मन्त्रिमण्डलमा सहभागी हुनेछन् । कांग्रेसबाट यज्ञबहादुर थापा, सञ्जय गौतम, रामकृष्ण यादव, राजन केसी, भीमसेनदास प्रधान, अम्बिका बस्नेत, मोहन बस्नेत, वीरबहादुर बलायर, मीनबहादुर विश्वकर्मा र अर्जुन जोशी मन्त्रिमण्डलमा सहभागी हुनेछन् ।
पौडेलले बुझाएका नाममा केन्द्रीय सदस्य रामकृष्ण यादव तथा सांसदहरु यज्ञबहादुर थापा, संजय गौतम र राजन केसी छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट चार मन्त्री थपिने भएका छन् । देउवाले आफ्नो समूहबाट थप्न लागेका मन्त्रीहरुमा मीनबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेत छन् । बाँकी १० मन्त्री मध्ये देउवा पक्षबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडल पक्षबाट ४ जना हुनेछन् भने कृष्ण सिटौला समूह र खुमबहादुर खड्का समूहबाट एकएक मन्त्री बन्नेछन् । १९ मन्त्रीले दिउँसो दुई बजे सपथ ग्रहण गर्नेछन् ।
तर, समय तय गर्ने अधिकार राष्ट्रपति कार्यालयसँग छ । कांग्रेस शिर्ष नेताहरुले हिजो साँझ मन्त्रीहरुको टुंगो लगाएका थिए । तर अहिलेसम्म मन्त्री हुनेहरुको नाम औपचारिक रुपमा सार्बजनिक गरिएको छैन । विवाद मिलेसँगै पौडेल पक्षले चार जनाको नामसमेत प्रधानमन्त्रीलाई दिएको छ स्रोतले जनाएको छ । पौडेलले दिएका सबै मन्त्रिपरिषद्का लागि नयाँ अनुहार हुन् ।
आज हुने मन्त्रिपरिषद् विस्तारमा माओवादीका मन्त्रीहरु पनि समेटिनेछन् । यसैगरी माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, श्यामकुमार श्रेष्ठ, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही र सीता नेपाली लगायतको नाम चर्चामा छ । यस्तै फोरम लोकतान्त्रिकले जितेन्द्रनारायण देवलाई सरकारमा पठाउने तयारी गरेको छ ।
यस्तै नेकपा संयुक्तले सांसद मिथिला चौधरीलाई पार्टीका तर्फबाट सरकारमा पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र नेपाल लोकतान्त्रिक फोरमबाट एकजना गरी आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए ।
फोरमका विजयकुमार गच्छदारले उपप्रधान र सङ्घीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महराले उपप्रधान र परराष्ट्र साथै कांग्रेसका गोपालमान श्रेष्ठले उपप्रधान र शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।
त्यसैगरी कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ, फरमुल्लाह मंसुरले श्रम तथा रोजगार, माओवादी केन्द्रका जनार्दन शर्माले गृह र प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
प्रतिक्रिया दिनुहोस्