Banner News

मतदाता नामावली दर्ता गर्न भीड



भक्तपुर, ११ साउन । जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा मतदाता नामावली संकलन एवं अद्यावधिक गर्ने कार्यमा भीड लाग्न थालेको छ ।

जिल्ला निर्वाचन भक्तपुरको कार्यालय सिर्जनानगरबाट मतदाता नामावली संकलन एवं अद्यावधिक गर्ने कार्य साउन १ गतेबाट सुरु भए पनि अहिले नामावली दर्ता गर्नेको भीड लाग्न थालेको प्रमुख उमेश राईले जानकारी दिए ।

आगामी प्रदेश र संघको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन एवं अद्यावधिक गर्न परिपत्र गरेपछि कार्यालयले नामावली संकलन सुरु भएको हो ।

आजसम्ममा कार्यालयमा एक हजार ७०० जनाले मतदाता नामावलीको लागि फोटो खिचाएर नाम दर्ता गराएको जानकारी दिए ।

मतदाता नामावली संकलन गर्नेको भीड लाग्न थालेपछि कार्यालयले साउन १६ गते साउन ३२ गतेसम्म मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको कार्यालयबाट समेत नामावली दर्ताको काम गर्न लागेको जनाएको छ । भक्तपुरभन्दा बाहिर जिल्लाका बासिन्दाले पनि कार्यालयमा आएर नाम दर्ता गराउन सक्नेछन् ।

जिल्लाका चार नगरपालिका रहेको भक्तपुरमा ३८ वटा स्थानीय तह रहेका छन् । गत वैशाख ३१ गते भएको निर्वाचनमा भक्तपुरमा सबैभन्दा धेरै ८४ प्रतिशत मत खसेको थियो । भक्तपुरमा हाल एक लाख ६० हजार ५२९ जना मतदाता रहेका छन् ।