काठमाडौं, १४ साउन । वैदेशिक कामको सिलसिलामा मलेसियामा ४ वर्ष ५ महिना बिताएर सोमबार (साउन ८ गते) नेपाल फर्कँदा बौतडी गोकुलेश्वर–५ का जगदीशराम लोहारको साथमा सुटकेस थिए । न त हातमा झोला नै थियो । उनीसँग पर्स, पैसा पनि थिएन । शरीरमा लगाएको सेतो टिसर्ट, हाफपाइन्ट र चप्पलमा थिए ।
उनले कमाएको र ल्याएको सम्पत्ति यति थियो । त्यो पनि आफ्नै कमाइले किनेको भने होइन । छ महिना जेल बस्दा प्रहरीले लगाउन दिएको हो । सोमबार नेपाल फर्केपछि नयाँ बसपार्कस्थित एक होटलमा भेटिएका लोहार भन्दै थिए,‘रोल्पाको एक दाइ त कट्टु मात्र लगाएर मलेसियाबाट काठमाडौंसम्म आउनुभएको थियो ।
यातनाले गर्दा उहाँको मानसिक स्थिति अलि बिग्रेको छ । विमानस्थलबाट बाहिर निस्केपछि उहाँ कहाँ जानुभयो, थाहा छैन । लोहारसँगै सोमबार ४३ जना नेपाली हिमालयन एयरलाइन्समार्फत काठमाडौं आएका थिए । सबैको अवस्था लोहारकै जस्तै थियो ।
सबैसँग सम्पत्तिको नाममा शरीरमा लगाएको एकसरो कपडामात्रै थियो । मलेसियाको मेलाका घरफिर्ती केन्द्रमा हवाई टिकट नहुँदा लामो समयदेखि नेपाली दूतावासले उद्धार गरी स्वदेश पठाएको हो । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्