काठमाडौँ, १५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानलाई मल र बीउको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
आज २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही वर्ष अघिसम्म विकराल रहेको मल र बीउको अभाव पछिल्ला वर्षहरुमा कमी हुँदै गएको बताउँदै यसको आपूर्ति र व्यवस्थापनमा थप मेहनत सरकारले गर्ने बताए ।
धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिंदै सरकारले आगामी दशकलाई कृषि दशक भनेर नीति तथा कार्यक्रम बजेटमा प्राथमिकतामा राखिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसमा सरकारले पूर्ण तागत लगाउने बताए ।
कृषिमा यान्त्रिकीकरण र व्यवासयीकरण गर्दा देशभित्र नै युवाहरू बस्ने र विदेशमा पुगेका युवाहरूसमेत केही गर्न सकिन्छ भनेर देश फर्किने अवस्था आउने विश्वास प्रधानमन्त्रीले ब्यक्त गरे ।
धानमा आत्मनिर्भर हुन व्यवसायिक खेती प्रणाली, सिचाइँको सुविधा, यान्त्रिकीकरणलाई प्राथमिकतामा राखिने प्रधानमन्त्री प्रचण्डले बताए । कृषि क्षेत्रको व्यवसायीकरण र विविधिकरणमार्फत मुलुकमा समृद्धि हासिल गर्न पछिल्लो समयमा कृषि क्षेत्रमा जलवायु परिवर्तन ठूलो चुनौतीको रूपमा देखिएको भन्दै प्रधानमन्त्रीले जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गरेर उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए ।










प्रतिक्रिया दिनुहोस्