समाचार

चुनाव अनिश्चितः महासंघमा आज पनि भएन उम्मेदवारी मनोनयन



काठमाण्डौ,१५ असार । नेपाल पत्रकार महासंघको चुनावका लागि शनिबार हुने भनिएको उम्मेदवार मनोनयन विवादका कारण हुन नसकेपछि चुनाव अनिश्चित भएको छ । केन्द्रीय निर्वाचन समितिले चुनावी कार्यतालिकाभन्दा केही घण्टा ढिला गरी शुक्रबार राति आठ बजे अन्तिम मतदाता नामावली सार्वजनिक गरेको थियो । तर, सो नामावलीमा सक्रिय पत्रकारहरूको नाम काटिएको र गैरपत्रकार समावेश गरिएको भन्दै नेपाल प्रेस युनियनले शुक्रबार राति नै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थिय

युनियनको तालाबान्दीका कारण केन्द्रीय निर्वाचन समितिले असहज वातावरण भएको भन्दै उम्मेदवार मनोनयन नहुने सूचना जारी गरेको छ । तर, २२ असारमा चुनाव गराउन समितिले प्रतिवद्धता जनाएको छ ।

उता युनियनले केन्द्रीय कार्यालयमा लगाएको ताला प्रेस चौतारी, प्रेस सेन्टरलगायतका संगठनका नेताहरूले फोडेका छन् । उनीहरूले ताला फोडेपछि युनियनका नेता तथा कार्यकर्ताहरू फेरि महासंघको केन्द्रीय कार्यालय पुगेका थिए । त्यसपछि केही समय झडपको समेत स्थिति सिर्जना भएको थियो ।

उता युनियनले देशैभर महासंघका शाखा कार्यालयहरूमा तालाबन्दी गरेको छ । सक्रिय पत्रकारको नवीकरण नयाँ सदस्यता वितरण नगरिएसम्म यो चुनाव नस्वीकार्ने युनियनले चेतावनी दिएको छ । तर, चौतारी र सेन्टरले भने तोकिएकै मितिमा चुनाव हुनुपर्ने माग गरेका छन् ।