शैक्षिक

कारागारमा स्वास्थ्य शिविर



लमजुङ, १४ साउन । जिल्ला कारागारमा रहेका बन्दीकैदीलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, लमजुङ जिल्ला सामुदायिक अस्पताल र ‘रोट्र्याक्ट क्लब’ अफ लमजुङको आयोजनामा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

आज एक औपचारिक कार्यक्रम गरी शिविर उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले कारागारमा वर्षमा कम्तीमा तीन पटक स्वास्थ्य शिविर आयोजना गर्नुपर्नेमा जोड दिए ।

कारागारमा रहेका ६६ बन्दीकैदीलाई स्वास्थ्य परीक्षणसहित निःशुल्क औषधि वितरण गरिएको थियो । परीक्षणको क्रममा बन्दीकैदीमा ठूलो समस्या नदेखिए पनि सामान्य समस्या देखिएको थियो ।