सम्पादकीय

कछुवा गतिमा राजधानीका नदी कोरिडोर



काठमाडौँ, १५ साउन । काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनमा महत्वपूर्ण मानिएका खोला किनारका कोरिडोर निर्माणमा सोचेजति प्रभावकारी काम हुन नसकेको सरकारी अधिकारीले नै स्वीकार गरेका छन् ।

बागमती र धोबीखोला कोरिडोरबाहेक अन्य कोरिडोरमा निर्माणकार्य तोकिएको लक्ष्यअनुसार हुनसकेको छैन भने बजेट उपलब्ध भएर पनि खर्च हुनसकेको छैन ।

सरकारले धोबी खोला, बागमती, विष्णुमती, नख्खु खोला, महादेव खोला र साङ्ला खोला कोरिडोर निर्माण सुरु गरेको छ । खोला कोरिडोरमा सडक निर्माण गर्नुको ध्येय खोला संरक्षण र सौन्दर्यीकरण गर्नु भए पनि तोकिएको समयमा निर्माण नहुनाले स्थानीयवासीलाई राहत होइन, आहत मात्रै दिएको छ ।

सरकारले निर्माणकार्यमा प्रगति भएको ठानेको धाबीखोला कोरिडोरका कारण पानी पर्दा हिलो र सुख्खा हुँदा धुलोको मारमा राजधानीवासी परेका छन् । आयोजनाको सडक किनारमा गरी कूल २२ किलोमिटर ट्र्याक खुलेको छ । तर, ट्र्याक खोलेकोमध्ये ५०० मिटर सडक पहिरोका कारण क्षतिग्रस्त छ ।

यो सडकखण्डमा आयोजनाले ६ किलोमिटर कालोपत्रे गर्ने भनेर ठेक्का गरेको भए पनि आर्थिक वर्ष २०७३÷७४ मा दुई किलोमिटर मात्रै सडक कालोपत्र भएको सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले जानकारी दिए ।

आयोजनाको पूरै सडकखण्डमा ढल राख्ने कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भए पनि हालसम्म १२ किलोमिटर क्षेत्रमा मात्रै ढल राखिएको छ । आयोजनाका लागि गत आर्थिक वर्ष २०७३÷७४ मा ४५ करोड रुपियाँ बजेट विनियोजन भएको भए पनि तोकिएअनुसार काम हुनसकेन ।

आयोजनाका लागि थप ?। ६० करोड लगानी आवश्यक पर्ने सहरी विकास मन्त्रालयले जानकारी दिएको छ । तर, मन्त्रालयले आयोजनालाई बहुवर्षीय ठेक्कामा लगाउने र आगामी दुई वर्षभित्र मात्रै सम्पन्न हुने जनाएको छ । गोरखापत्रमा समाचार छ ।