काठमाडौँ, २५ असार । सन् २०२४ को जुलाईका सात दिनमा देशभर ७१ जना डेंगु संक्रमित थपिएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार जुनयता संक्रमण बढेको हो । जुनमा सबैभन्दा धेरै ३१७ संक्रमित थपिएका छन् । त्यसअघिका महिनामा संक्रमितको संख्या तीन सय कटेको थिएन । जनवरीयता ७ जुलाईसम्म देशभर एक हजार ४८३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यस वर्ष (सन् २०२४)मा डेंगु संक्रमण ७३ जिल्लामा फैलिएको छ । जनवरीयता वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५०५ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौँमा सबैभन्दा धेरै १६५ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । यस्तै, झापामा १२३, चितवनमा ८३, मकवानपुरमा ६५, तनहुँमा ५२, ओखलढुंगामा ५० जनामा डेंगु पुष्टि भएको छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगु देखिएको ईडीसीडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्