काठमाडौं , १६ साउन । सत्तरी वर्षमा एसईई परीक्षा उत्तीर्ण दुर्गे कामीलाई उच्च शिक्षा अध्ययन गर्न समस्या भएपछि उनले सरकारसँग गुहार मागेका छन । । स्याङ्जा जिल्लाको फेदिखोला–३ का उनले गत २०७३ मा एसईई परीक्षा दिएका थिए । उनले सोही विद्यालयबाट कक्षा तीनदेखि नियमित कक्षा लिई अध्ययन गर्दै आएका थिए ।
कालभैरव उच्च माध्यमिक विद्यालय स्याङ्जामा अध्ययन गरी उनले सिद्धार्थ स्याङ्जा परीक्षा केन्द्रबाट उक्त परीक्षा दिएका थिए । उनले १.२ जीपीए ल्याएर एसईई उत्तीर्ण गरेका थिए । बुढेसकालमा पनि हिम्मत जुटाएर अध्ययन थालेका दुर्गेको इच्छा थप अध्ययन गरी शिक्षक बन्ने रहेको छ ।
शिक्षाबिनाको मानिस साँच्चै नै अन्धो हुने बताउने उनले आइतबार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटी उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाइदिन अनुरोध गरे ।
जवाफमा परराष्ट्रमन्त्री महराले उनको शिक्षाप्रतिको आकाङ्क्षालाई सम्बोधन गर्ने आश्वासन दिँदै अध्ययनका लागि आवश्यक पर्ने वातावरण मिलाउन पहल गर्ने बताए । उनले एसइई परीक्षा उत्तीर्ण गर्नुभएकोमा बधाई दिँदै अध्ययनमा निरन्तर लाग्न प्रेरणा दिए ।
दुर्गे कामी चार छोरा र दुई छोरीका पिता तथा नौ जना नातिनातिनाका हजुरबुवा हुन । उनकी श्रीमतीको भने १५ वर्षअघि निधन भइसकेको छ । उनका एक जना छोरा नरेन्द्र सुनार विक भने वैदेशिक रोजगारीको सिलसिलामा साउदीको जेलमा छन।
परराष्ट्रमन्त्रीसँगको भेटमा कामीले आफ्नो छोरो साउदीको जेलमा रहेको जानकारी गराउँदै नेपाल फिर्ता ल्याउने पहल गरिदिन पनि अनुरोध गरे् । उनले वैदेशिक रोजगारीको सिलसिलामा साउदी गएका छोरा तीन वर्षदेखि जेलमा रहेको बताए । उनले के कारण आफ्नो छोरो जेलमा परेको थाहा नभएको बताए ।
परराष्ट्रमन्त्री महराले नरेद्रको वास्तविक अवस्थाका विषयमा जानकारी लिने र नेपाल ल्याउन पहल गर्ने जवाफ दिए परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । गोरखापत्रमा समाचार छ










प्रतिक्रिया दिनुहोस्