सम्पादकीय

सुक्खाग्रस्त क्षेत्रमा रोपाइँको तयारी



काठमाडौं, १६ साउन । तराईका केही जिल्लामा वर्षा नभएको कारण सुख्खाग्रस्त अवस्था सिर्जना भएको हुनाले त्यसको समाधानका लागि गृह मन्त्रालय तथा कृषि विकास मन्त्रालयले गृहकार्य सुरु गरेको छ । यद्यपि शनिबार पानी परेको कारणले धान रोपाइँमा पनि वृद्धि भएको छ ।

गृहमन्त्री जनार्दन शर्माको उपस्थितिमा आइतबार बसेको गृह मन्त्रालयमा बसेको केन्द्रीय दैवी उद्धार समितिको बैठकमा गृहमन्त्री जनार्दन शर्माले सुख्खाग्रस्त क्षेत्र पहिचान गरी त्यहाँ सिँचाइको व्यवस्था तत्काल गर्न सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ । निर्देशन अनुसार सोमबारदेखि कृषि मन्त्रालयसँग समन्वय गरी सिँचाइ मन्त्रालय सुख्खा क्षेत्र अनुगमन गर्न जाने र सिँचाइको व्यवस्था गर्ने मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्री रामकृष्ण यादवले आइतबार मन्त्रालयमा मातहत निकायका पदाधिकारीहरूलाई बोलाएर धान रोपाइँ भएका नभएका तथा सुख्खा क्षेत्रको बारेमा जानकारी लिनुभएको छ । साथै, त्यसको तत्कालै के समाधान हुनसक्छ, त्यसको कार्यमा लाग्न निर्देशन दिएका छन ।

मन्त्री यादवले पानी नपरेको कारणले धान रोपाइँ हुन नसकेको ठाउँमा वैकल्पिक उपाय के हुनसक्छ, ती सबै कार्य गरेर किसानलाई सुविधा दिन आफूले निर्देशन दिइसकेको बताए ।

सुख्खाग्रस्त क्षेत्रलाई तत्कालै पहिचान गरी त्यसको समाधानका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार गरेर सुख्खाग्रस्त क्षेत्र हटाउने उनले बताए । उनले त्यसका लागि विभिन्न कार्यदलहरू गठन गर्न पनि लगाएका छन । गोरखापत्रमा समाचार छ ।