सम्पादकीय

प्रधानमन्त्री देउवा भारतीय राष्ट्रपति कोविन्दको पहिलो पाहुना बन्ने



काठमाडौं, १६ साउन । भुटान र चीनबीच उत्पन्न सीमा विवादका कारण भारत र चीनबीच द्वन्द्व चर्किरहेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ (अगस्ट २३) देखि पाँचदिने भारतको राजकीय भ्रमण गर्ने प्रायः निश्चित भएको छ ।

भारत र चीनको विवाद चर्किरहँदा रणनीतिक भूराजनीतिक अवस्थामा रहेको नेपालले तटस्थता देखाउनुपर्ने बताइरहेको अवस्थामा यो भ्रमणको औपचारिक तिथि सार्वजनिक हुन लागेको हो । भदौ ८ गते बिहीबार देउवाले नयाँदिल्लीमा उच्चस्तरीय भेटघाट गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको परराष्ट्र मन्त्रालय उच्चस्रोतले जानकारी दियो ।

प्रधानमन्त्रीको भ्रमण राजकीय भनिए पनि देउवालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दको निमन्त्रणा आइनसकेकाले तिथि घोषणा नगरिएको हो । उनको निमन्त्रणा आएपछि देउवा राष्ट्रपति भवनमा बस्ने नयाँ राष्ट्रपतिको पहिलो विदेशी पाहुना बन्ने अधिकारीहरूले बताए । यसअघिका दुई प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालको राजकीय भ्रमण हुँदा तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले निमन्त्रणा गर्दै राष्ट्रपति गेस्ट हाउसका पाहुना बनाएका थिए ।

भ्रमणको तयारीमा प्रत्यक्ष संलग्न भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले काठमाडौं आई प्रधानमन्त्री देउवालाई उक्त तिथिबारे जानकारी गराएको मन्त्रालय उच्चस्रोतले जनायो ।

तिथि औपचारिक रूपमा सार्वजनिक हुन बाँकी रहे पनि भदौ ७ मा भ्रमण हुने गरी तयारी भइरहेको अधिकारीले जनाए । उक्त तिथि परराष्ट्र मन्त्रालयसँगको समन्वयमा भारतीय पक्षबाटै तय गरिएकाले यसमा तलमाथि हुने सम्भावना न्यून छ । यसअघि दुई पटक तिथि तलमाथि भइसकेको छ । भारतले दिएको तिथि नेपाललाई नमिल्ने र नेपालले दिएको तिथि भारतीय पक्षलाई स्वीकार नहुने अवस्थाबीच यो तिथि तय भएको हो ।

प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा हैदराबाद र पटनाको समेत भ्रमण गर्नेछन् । उनले हैदराबादमा सूचना प्रविधिबारे जानकारी लिनेछन् भने बिहारमा नितिश कुमारसँग जनस्तरको सम्बन्ध र विकास मोडलबारे छलफल हुने जनाइएको छ । कान्तिपुरमा समाचार छ ।