सम्पादकीय

उत्तरी नाका जोड्ने सडक बनाउन चीन तयार



काठमाडौं, १६ साउन । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडकखण्ड निर्माण गर्न तयार रहेको जनाउ दिएको छ ।

साता लामो तिब्बतयात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा त्यस्तो प्रस्ताव आएको जानकारी गराएका हुन् ।

ओलीले आइतबार पार्टीको स्थायी समिति बैठकमा भने, ’चिनियाँ नेताले दुई देशको उत्तरतर्फका सीमानाका खोल्न र नेपालतर्फको सडक निर्माणमा पनि तयार रहेको बताएका छन् । यसका लागि नेपाल सरकारले आधिकारिक रूपमा पत्राचार गर्नुपर्ने प्रस्ताव उनीहरूको छ ।’

चिनियाँ पक्षले रसुवाको रसुवागढी, ताप्लेजुङको ओलाचुङ्गोला, संखुवासभाको किमाथांका, सिन्धुपाल्चोकको तातोपानी, दोलखाको लामाबगर, हुम्लाको यारी, गोरखाको लार्के, मुस्ताङको कोरला, मुगुको हिल्सा नाका खोल्न ओलीसमक्ष प्रस्ताव राखेका छन् ।

ती नाका खोल्न नेपालतर्फको सडक निर्माणमा तयार रहेको जानकारी चिनियाँ पक्षले दिएको ओलीले स्थायी समितिमा बताएका थिए । चिनियाँ पक्षले तातोपानीको भूकम्पले चर्काएका पहाडको भौगोलिक र भूगर्भिक सर्वेक्षण गरिरहेको र चाँडोभन्दा चाँडो नाका सञ्चालनको पहल गर्ने जानकारी दिएको ओलीले बताए ।

द्विपक्षीय हित र सरोकारकेन्द्रित भेटवार्तामा तिब्बती पक्षले सकारात्मक र उत्साहपूर्ण प्रतिक्रिया दिएको ओलीको भनाइ थियो । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका प्रतिनिधि र तिब्बत कम्युनिस्ट पार्टीका उच्च अधिकारीले आफूलाई वर्तमान प्रधानमन्त्रीसरहको सम्मान गर्दै नेपालको आर्थिक विकासका लागि आवश्यक सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता पाएको जानकारी ओलीले दिए । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।