सम्पादकीय

प्रधानमन्त्रीको निर्देशनले ९० प्रतिशत खाल्डा पुरिए



काठमाडौं, १६ साउन । उपत्यकाका सडकमा बनेका खाल्डाखुल्डी तोकिएको समयसीमाभित्र पुर्न सम्बन्धित निकाय असफल हुने देखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले साउन १ गते १५ दिनभित्र उपत्यकाका सबै सडकमा बनेका खाल्डाखुल्डी पुरिसक्न सम्बन्धित मन्त्रालय–निकायलाई निर्देशन दिएका थिए । तर, कुनै पनि निकायले तोकिएको समयसीमाभित्र शतप्रतिशत काम पूरा नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिए ।

‘सोमबार प्रधानमन्त्रीले दिएको निर्देशन पूरा गर्ने अन्तिम दिन भए पनि सबैको काम पूरा गर्ने अवस्था देखिँदैन,’ उनले भने । उपत्यकाको विकास निर्माणमा अन्तर मन्त्रालय–निकाय समन्वय र अनुगमनको संयोजकसमेत रहेका उनले १५ साउनमा प्रगतिको अन्तिम प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिए ।

सडक विभागले उपत्यकाका सडकमा रहेका खाल्डा पुर्ने कामलाई नियमित गर्ने बताएको छ । विभागअन्तर्गतको मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटाका अनुसार सडकको खाल्डा पुर्ने कामलाई नियमित कार्यातालिका बनाइनेछ । ‘तोकिएको समय १५ दिन भित्र सम्पूर्ण काम सम्पन्न नभए पनि हाम्रो नियमित कामका रूपमा सडक निर्माणलाई सुचारु राखिनेछ,’ उनले भने ।

विभागले पछिल्लो १४ दिनमा १ सय २६ जना नियमित रूपमा खाल्डा पुर्ने काममा लागेको जानकारी दिएको छ । ‘त्यस्तै, करिब ५० लाख रुपैयाँ खर्च भएको छ,’ क्षेत्रीय निर्देशक सापकोटाले भने । उक्त खर्च बालुवा, गिट्टी, बिटुमिनलगायतका सामान खरिद गर्नमा भएको उनको भनाइ छ ।