सम्पादकीय

सकुशल भेटिए स्कुलबाटै अपहरणमा परेका बालक



काठमाडौं, १७ साउन । असनको सुरतश्री महाविहार संरक्षण समितिको चोकमा मान्छेको भीड थियो । साँझ साँढे सात बजे टोलभरिका मान्छे भेला भए । भीडमा उल्लास छायो जब साढे ५ वर्षे बालकलाई काखमा लिएर एक पुरूष भित्र छिरे ।

गत बिहीबार स्कुलबाटै अपरहणमा परेका हार्डवेयर व्यापारी अजय र निर्मला चौधरीका छोरा विशाल चौधरी सकुशल भेटिएको खुशीमा छरछिमेक उनलाई भेट्न पुगेका थिए । युकेजीमा पढै गरेका विशाल बिहीबार सदाझैं १३ र १५ वर्षका दाइ र काका पर्नेसँग स्कुल गएका थिए ।

कहिले उनकी आमा त कहिले बुबा क्षेत्रपाटीस्थित स्कुलबाट छोरा लिन पुग्थे । बिहीबार पनि त्यसै भयो । उनका बुबा छोरालाई स्कुलबाट लिन त गए तर छोरालाई सँगै ल्याउन पाएनन् । विद्यालयबाट छोरा केहीबेरअघि नै गइसकेको जवाफ पाएपछि चिनजानका सबैलाई छोरालाई स्कुलबाट लिएर गएरनगएको बारेमा सोधे, तर सकारात्मक जवाफ पाएनन् ।

स्कुल वरपर खोजतलाश गरे तर छोरा भेटिएनन् । कतैबाट जवाफ नपाएपछि उनी प्रहरीमा पुगे । त्यही दिन रिपोर्ट लेखाए, प्रहरीले खोजी गरिरहेको बतायो । भोलिपल्ट शुक्रबार पनि त्यसै गयो । शनिबार मध्यान्ह अपरिचित नम्बरबाट फोन आयो ।

‘सुरुमा हामीले अर्को बच्चा उठाउनुपर्नेमा तपाईँको छोरा उठाएछौं भने,’ विजयले भने, ‘पछि हामी २ नं। प्रदेशमा चुनाव लड्ने हो तपाईँको सहयोग चाहियो भने ।’ फिरौतिस्वरुप ५० लाख मागे । उनले दिन नसक्ने बताएलगत्तै फोन काटियो ।

असनमा ८ वर्षदेखि भाडा लिएर बस्दै आएका कपिलवस्तुका चौधरी परिवारमा सबै दुखी थिए । ‘घरमा भात खान आनाकानी गथ्र्यो, खाना खायो कि खाएन होला भन्ने चिन्ता लागिरहन्थ्यो । तर विश्वस्त थिएँ उसलाई केही भएको छैन भन्नेमा,’ आमा निर्मलाले भनिन् ।

उनकी हजुरआमा र हजुरबुवा पनि एक्लो नाती हराएकोमा दुखी थिए । तर सोमबार बिहान ६ बजे काँडाघारी विरेन्द्रचोकबाट बालक भेटिएको भन्दै एक व्यक्तिले फोन गरे र प्रहरीसहित परिवारका सदस्य पुगे ।

स्कुल ड्रेसमा गायब भएका उनी नयाँ कपडामा भेटिए । स्कुल ड्रेस झोलामा थिए । किताब पनि । सोमबार दिनभरि प्रहरीसहित विशाल घुमिरहे । विजयले बालबालिकाहरूलाई स्कुलमा अभिभावकबाहेक कसैको जिम्मा लगाउन नहुने बताउँछन् ।

बालबालिकाको सुरक्षाको विषयमा विद्यालय र अभिभावक दुवै संवेदनशील हुनुपर्ने उनले बताए । बालबालिकालाई चिनजानका मान्छेसँग मात्र बोल्न सिकाउनुपर्ने, नचिनेका मान्छेसँग मिलनसार नहुन सिकाउने, अरुले दिएको खानेकुरा हतपत नखाने जस्ता व्यवहार सिकाए बालबालिकाको अपहरणका घटना कम हुने प्रहरीको भनाइ छ ।

महानगरीय अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले बालक सकुशल उद्धार गरिए पनि यस विषयमा थप अनुसन्धान भइरहेको र अपराधिको खोजी भइरहेको बताए । कान्तिपुरमा समाचार छ ।