राजनीति

अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्छौँ : प्रधानमन्त्री ओली



काठमाडौँ, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्ने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले भने, “नेपालको स्वामित्वमा रहेको अर्बाइटल स्लट उपयोग गरी अन्तरिक्षामा आफ्नै स्याटेलाइट स्थापना गर्नेछौँ ।”

उनले वैदेशिक रोजगारीका कारण उपभोक्ताको उपयोग गर्ने तरिका र मागमा परिवर्तन आएको सुनाए । वैदेशिक रोजगारीले कस्तो परिवर्तन आयो भन्ने नेपाल राष्ट्र बैंकले अध्ययन गर्ने उनले बताए । 

“वैदेशिक रोजगारीले कुनकुन अवयवमा के कस्तो परिवर्तन गरेको छ, माग र आपूर्ति कहाँ बढेको छ, कहाँ घटेको छ भन्ने बारेमा राष्ट्र बैंकले विस्तृत अध्ययन गर्नेछ,” उनले भने । प्रधानमन्त्री ओलीले बालबालिकालाई भोकै मर्न नदिइने बताए । स्कुल जान, पढ्न नपाएका, जाडोमा न्यायो लुगा लगाउन नपाएका बालबालिका र भोक लाग्दा खान नपाएकाहरू सरकारको प्रमुख चासोको विषय भएको उनले बताए ।

ओलीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मरण गरेका छन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक सभापति बीपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा ओलीले उनीप्रति विशेष सम्मानसहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

“आज आदरणीय नेता बीपी कोइरालाको ४२ स्मृति दिवस पनि हो । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु,” प्रधानमन्त्री ओलीले सम्बोधनको सुरुआतमा भने, “नेपाली समाजको परिवर्तन र रूपान्तरणमा उहाँले पुर्‍याएको योगदानको सम्मान गर्दछु र उहाँप्रति अत्यन्तै आदरभावका साथ श्रद्धाञ्जली अर्पण गर्दछु ।”