सम्पादकीय

मधेसमा कांग्रेस हाफ र माओवादी पत्तासाफ !



काठमाडौं, १७ साउन । स्थानीय तहको दोस्रो चरणको निर्वाचनले पनि नेपाली कांग्रेस दोस्रो स्थानमा देखिएको छ । कांग्रेसले तेस्रो चरणको निर्वाचनमा मधेसमा १ नम्बर पार्टी बनाउने रणनीति अपनाएपनि उसको नराम्रो पराजयको प्रक्षेपण गरिएको छ ।

मधेस अभियानकै लागि कांग्रेसले विमलेन्द्र निधि, प्रकाशशरण महत र बालकृष्ण खाँणलाई परिचालन गरेको छ । सरकारमा मधेसी अनुहार राखिएपनि त्यो पर्याप्त नभएको भन्दै कांग्रेसभित्र आन्तरिक कलह त छँदै छ ।

उता, संविधान संशोधनलगायतका विषयमा कांग्रेसको धोका कारण राष्ट्रिय जनता पार्टीले त्यसप्रति खेद प्रस्ताव नै पारितको तयारी गरेको छ । राजपाले चुनावमा जाने मनस्थिति बनाएको छ र उसको सवैभन्दा धेरै निषेध कांग्रेसप्रति नै रहने रणनीति बनेको छ ।

‘एमालेले त एजेन्डा कार्यान्वयनमा साथ दिने भनेको छ तर कांग्रेस र माओवादीले मधेसलाई मुद्दा बनाएर सत्ता मात्र चलाए, समस्या समाधानका लागि अघि देखिएनन्’, राजपाको एकजना नेताले भने,‘अब कांग्रेस मधेसमा सेना परिचालनको तयारीमा पुगेको छ । शेरबहादुरले पहिले पनि यो गरेका हुन् यसर्थ अवको अभियान शेरबहादुर विरोधमा मधेसमा चल्नेछ ।’

त्यसो त प्रदेश २ का नेताहरूको सहभागितामा कांग्रेसले उठाउनुपर्ने मधेसका मुद्दाहरूबारे काठमाडौंमा छलफल चलेको थियो ।। जनकपुरमा शनिबारदेखि आइतबारसम्म मधेसका आठ जिल्लाका सभापतिहरूसँग बैठक गरेको थियो ।

साउन १९ मा कांग्रेसले वीरगञ्जमा आमसभा गर्दैछ, जसलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ । तर त्यो सम्बोधनमा राजपाको आन्तरिक विरोध रहनेछ । मधेसका माग पुरा नगरी प्रधानमन्त्रीलाई सम्बोधनका लागि सहयोग नगर्ने राजपाको योजना रहेको छ । ‘हाम्रा कार्यकर्ताको सांकेतिक विरोध रहनेछ, कालोझन्डा देखाइने छ । मधेसका माग पुरा नभई त्यो सम्बोधनले कुनै अर्थ राख्दैन’, एकजना नेताले भने ।

राजपाका लागि मधेसको खतरा एमाले भन्दा पनि कांग्रेस र माओवादी हुन् । आफ्नो एकमत रहेको क्षेत्रमा मधेसको सहानुभुतिमा कांग्रेसले स्थानीय चुनावमा सिट जितेर बढार्ने योजना बनाएको राजपाको बुझाई छ । त्यसकारण राजपाले आन्तरिक सर्कुलर नै कांग्रेसविरोधी अभियान चलाउनुपर्ने गरिसकेको छ । ‘महन्थ ठाकुर जी पनि कांग्रेसको पुरानो नेता हो, उहाँका कार्यकर्ताले कांग्रेसमा मत हाल्नसक्ने संकेत हामीले पाएका कारणले सर्कुलर गर्नु परेको हो ।’, एकजना नेताले भने ।

२३ असारमा सप्तरी पुगेका प्रधानमन्त्री देउवाले त्यहाँका बाढी पीडितलाई २५ हजारका दरले राहत र १५ लाखसम्म सहुलियत ऋण उपलब्ध गराउने घोषणा गरे, जसलाई २६ असारको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ । त्यसैको सिको गर्दै कांग्रेस भातृ संगठन नेविसंघले पनि महोत्तरी पुगेर बाढी पीडित परिवारको स्वास्थ्य जाँच र औषधी वितरण गरेको थियो ।

यी सबै गतिविधिका पछाडि प्रदेश २ का बासिन्दामाझ धमिलिएको छवि सुधार्ने कांग्रेस रणनीति रहेको विश्लेषण गरिएको छ । राजपाको सरकारमा समर्थन तर मधेसका लागि उल्लेख्य काम चाहीँ कांग्रेसको भएपछि अहिले नेताहरू आत्तिएका छन् ।

जबकि, राजपा अध्यक्ष मण्डलमा बुहमत नेता नै सप्तरीबाट रहेका छन् । यही सेरोफेरोमा मधेसका माग सम्बोधन गर्ने उद्देश्यले संसदमा दर्ता गराइएको संविधान संशोधन विधेयक निर्णयार्थ प्रस्तुत गर्नुपर्ने आवाज निधिलगायत नेताले उठाउन थालेका छन् । ‘निर्णय हुने केही होइन तर नाटक धेरै गरियो । अब हामी यो अभियानकै भण्डाफोरको चरणमा पुगेका छौं ।’, राजपा सहमहामन्त्री सुरेश यादव भन्छन्,‘छलकपट र धोकाधडी भएको छ ।’

राजपाले आन्तरिक रूपमा मधेसमा राम्रो सीट ल्याएको कांग्रेसलाई हाफ र माओवादीलाई पत्तासाफको नीति अगाडी सार्ने तयारी गरेको छ । मधेसमा एमालेको जीत हुन नसक्ने अनुमान गरिएका कारण कतिपय ठाउँमा एमालेको समर्थनमा प्रमूख पदमा राजपाका उम्मेदवारलाई अगाडी सारिने तयारी भएको छ । जसमा राजपा नेताहरू खुसी छन् । एमालेले मधेसमा मधेसी मूलका र राजपाका उम्मेदवारलाई सघाउने रणनीतिमार्फत कांग्रेस र माओवादीका सीट सीमित बनाउने अर्को नीतिलाई पनि कायम गर्ने योजना बुनेको छ । जसमा राजपा सकारात्मक रहेको छ ।

संशोधन विधेयकका बारेमा राजपाभित्र नै दुई धार देखिएका छन् । शरतसिंह भण्डारी र महेन्द्र राय यादवले दोस्रो चरणकै चुनावमा जाने मनस्थिति देखाएका थिए । विधेयक असफल हुँदा पनि चुनावबाट भाग्न नहुने उनीहरूको बुझाइ देखिन्छ । राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादव भने विधेयक पारित नभएसम्म चुनावमा गएर लज्जाजनक हार बेहोर्नुपर्ने आकलनमा थिए ।

राजपाको यहि अन्तरविरोधलाई राजनीतिक एजेन्डा बनाएर संसदमा झुलाउने र जनतामा जनमत आफ्नो पक्षमा पार्ने कांग्रेस रणनीति राजपाले बुझिसकेको छ । ‘हामी यो तिकडमबाजीको खुलेर जनमतले जवाफ दिने अर्को तयारीमा जुटिसकेका छौं’, राजपा उच्च स्रोतले भन्यो,‘सहानुभुतीका नाममा हामीलाई मधेसमै कमजोर बनाउने रणनीति बनिरहेको दोस्रो चरणको निर्वाचन गराउनुले पुष्टि गरिसकेको छ ।’

चुनावमा ल्याउने बाहनामा कांग्रेस र माओवादीले राजपालाई जम्मा ८ जिल्लामा खुम्चाएको तर एमालेले त्यसरी नहेरेको चर्चा अहिले राजपा अध्यक्ष मण्डलमा पनि हुन थालेको छ । त्यसकारण राजपाले एउटै सुत्र स्थापित गर्ने कोसिसबारे दाबी गरेका स्रोतहरू भन्छन्– कांग्रेस हाफ, माओवादी पत्तासाफ बनाउने हो । जनप्रहार साप्ताहिकमा समाचार छ ।