काठमाडौँ, १४ साउन । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरूको मनोबल बढाउने गरी काम गर्नुपर्ने बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का पदाधिकारीहरूसँगको आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले अहिले नेपालले बिजुली आयात र निर्यात दुवै गरिरहेको भन्दै प्रतिव्यक्ति विद्युत् खपत बढाउन अझ धेरै बिजुली आवश्यक हुने भएकाले निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको मनोबल बढ्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका हुन् । अर्थमन्त्री पौडेलले अब बिजुली पुग्यो भन्ने ठाउँमा नेपाल नपुगेकोले ऊर्जा उत्पादकलाई हौसला दिनुपर्ने बताएका हुन् ।
भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा ऊर्जा क्षेत्र यहाँसम्म आउनुमा निजी क्षेत्रको योगदान उल्लेख्य रहेको बताए । उनले साढे दुई दशकदेखि ऊर्जा उत्पादन सुरु गरेको निजी क्षेत्रबाट मात्र हालसम्म २५ सय मेगावाट बराबरका १८२ आयोजना निर्माण सम्पन्न भएका, ३९ सय मेगावाट बराबरका १३७ आयोजना निर्माणाधीन रहेका र ३९ सय मेगावाट बराबरकै १३६ आयोजना नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीप) भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको तथ्याङ्क अर्थमन्त्री पौडेलसामु राखेका थिए ।
उक्त भेटमा इप्पानबाट अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्षद्वय आनन्द चौधरी र उत्तम भ्लोन, उपमहासचिव प्रकाश दुलाल तथा कार्यसमिति सदस्यद्वय उत्तरकुमार श्रेष्ठ र भरत पराजुली सहभागी भएका थिए ।










प्रतिक्रिया दिनुहोस्