अर्थ

नाचगान गरेर जुटाएको रकम सामाजिक सेवामा



काठमाडौँ, १५ साउन । म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारका बासिन्दाले नाचगान गरेर जुटाएको रकम सामाजिक काममा परिचालन गरेका छन् ।

उपल्लो तातोपानीमा रहेको टोल विकास संस्था र जलमाई भगवती आमा समूहले प्राकृतिक तातोपानी कुण्डमा स्नानका लागि र विदेशबाट जन्मथलो आएका लाहुरेहरूको स्वागतका लागि हरेक शुक्रबार सांस्कृतिक कार्यक्रम गर्छन् ।

नाचगान गरेर पाहुना र लाहुरेहरूबाट जुटाएको सहयोग रकमबाट सिसीटिभी क्यामेरा जडान, विश्रामस्थल, सडकबत्ती, फोहर व्यवस्थापनलगायत काममा खर्च गरिएको उपल्लो तातोपानी टोल विकास संस्थाका अध्यक्ष मुक्तिप्रसाद जुग्जालीले बताए । 

अध्यक्ष जुग्जालीका अनुसार नाचगान गरेर जुटाएको रु दुई लाख ८६ हजार र ७६ घरपरिवारबाट रु एक हजार पाँच सयका दरले सङ्कलन गरेको रकमबाट रु चार लाख खर्चेर उपल्लो तातोपानी बजारको सुरक्षाका लागि हालै १६ ठाउँमा सिसीटिभी क्यामेरा जडान गरिएको छ । 

सो सिसीटिभी क्यामेरामा एक महिनासम्मको आवाजसहितको भिडियोलाई भण्डारण गर्ने क्षमता रहेको छ । केही दिनअघि उपल्लो तातोपानीमा भएको चोरीको घटनामा संलग्नलाई सिसीटिभी क्यामेराको फुटेजका आधारमा तत्कालै पक्राउ गरेर प्रहरीलाई बुझाएको जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जाली गर्बुजाले बताइन् ।