अर्थ

कोदो एक वर्षमा ७५ करोड रुपैयाँभन्दा धेरैको आयात



काठमाडौँ, १५ साउन । हरेक वर्ष साउन १५ मा अनौपचारिकरुपमा ‘कोदो दिवस’ मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष’ कै रुपमा मनाएको थियो ।

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रुपमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको थियो । सरकारले साउन १५ लाई आधार मानेर कोदो दिवस मनाउने गरी प्रकृया अगाडि बढाएको छ ।

सरकारले औपचारिक घोषणा नगरेको भएपनि नेपालमा विगत चार वर्षदेखि नै स्वतःस्र्फुतरुपमा साउन १५ लाई कोदो दिवसका रुपमा मनाउने गरिएको छ ।

कोदो रोप्ने मुख्य सिजन साउन भएकाले अनौपचारिक रूपमा १५ साउनलाई कोदो दिवसका रूपमा मनाउँदै आएको कृषि अभियान्ताले बताएका छन् । कोदो नेपालको रैथाने बाली हो । यतिबेला कतिपय किसानलाई कोदो रोप्ने चटारो छ । गाउँघरमा अहिले पनि कोदो खेती परम्परागत पद्धतीमै गर्ने गरिएको छ ।

नेपालमा धान, मकै गहुँपछि कोदो चौथो मुख्य बालीका रुपमा रहेको छ ।