अर्थ

घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति  छ : मन्त्री पौडेल



काठमाडौँ, १६ साउन । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले ठुलो सङ्ख्या रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्त्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति रहेको बताएका छन् । 

आज नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधि मण्डलसँग अर्थ मन्त्रालयमा छलफल गर्दै अर्थमन्त्री पौडेलले घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धनका निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरूमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । 

उनले भने, ‘घरेलु तथा साना उद्योगको महत्त्व भनेकै देशका सबै जिल्ला, सबै पालिकामा यसको विस्तार हुनु हो । ठुलो सङ्ख्यामा रोजगारीका रूपमा यो क्षेत्रमा आबद्ध रहेको छ । यसलाई अझै विस्तार गर्न सक्ने सम्भावना छ । यो क्षेत्र स्वरोजगारीका लागि पनि महत्त्वपूर्ण माध्यम हो । त्यसैले घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छ । त्यसकारण यो क्षेत्रसँग सम्बन्धित कानुन, नियम, निर्देशिकामा के कस्ता व्यवस्था गर्नुपर्छ त्यसमा सरकारले ध्यान दिन्छ ।’