काठमाडौँ, १७ साउन । कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ ।
स्थानीय किसान आरबी नेपालका अनुसार किसानले हालै रोपिएको खेत पूर्ण रुपमा बगर बनेको छ । बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरे पनि ग्रेगरसहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको छ । दुई सय रोपनी खेतलाई क्षति पुर्याउँदै अहिले खोला बगिरहेको छ भने चार सय रोपनी खेतमा लगाएको रोपो पनि पुरिएको छ ।
बाढीको कारण स्यानीय समाजसेवी जनक ढुङ्गानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुङ्गे पुलमा पनि क्षति भएको छ । पुलको पिलर बगाएसँगै आवागमन रोकिएको छ । स्थानीय किसान अरुण राईले व्यावसायिक रूपमा गर्दै आएको माछापोखरीमा पनि क्षति भयो ।










प्रतिक्रिया दिनुहोस्