समाचार

डेंगी र स्क्रब टाइफसका बिरामी बढे



काठमाडौँ, १९ साउन ।  बागलुङ जिल्लामा साउनयता २६ जनामा डेंगी  पुष्टि भएको छ । डेंगी पुष्टि भएकामध्ये गलकोट नगरपालिकामा मात्रै २४ जना छन् ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेका अनुसार बागलुङको मध्यभागमा रहेको गलकोट अहिले डेंगी र स्क्रब टाइफसको उच्च जोखिममा रहेको छ । 

साउनमा जिल्लाभर २६ जनामा डेंगी पुष्टि भएकामध्ये गलकोटमा मात्रै २४ जना बिरामी छन् । दुईजनाको धौलागिरि अस्पतालमा सङ्क्रमण पुष्टि भएको थियो । 

गलकोट डेंगी मात्रै हैन स्क्रब टाइफसको समेत उच्च जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्य निरीक्षक घिमिरेका अनुसार अहिले गलकोट नगर अस्पतालमा एक दर्जन डेंगी र स्क्रब टाइफसका बिरामी उपचाररत छन् भने दैनिक चारदेखि पाँच जनामा डेंगी र स्क्रब टाइफस पुष्टि भइरहेको छ ।

गलकोटमा गत असारदेखि हालसम्म ४१ जनामा डेंगी पुष्टि भइसकेको र साउनमा मात्रै गलकोटभित्र १७ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् ।