भक्तपुर, २७ साउन । ‘आफ्नो गाउँ, आफै बनाउँ’ अभियान जस्तै सूर्यविनायक नगरपालिका वडा नं. ७ मा विकास संरक्षण तथा प्रवर्द्धन अभियानले तिव्रता पाएको छ ।
सामान्यतया तीन तहको सरकार तथा दातृनिकायबाट प्राप्त बजेटबाट विकास निर्माण हुने तर त्यसको संरक्षण तथा प्रवर्द्धन नहुँदा भएका विकासहरु कुरुप हुने गरेका छन् । आफ्नो घर छेउछाउ आफैले विकासको संरक्षण र प्रवर्द्धन गरी दिगो र प्रभावकारी बनाउने उद्देश्यका साथ साउन १७ गतेदेखी विकास संरक्षण तथा प्रवर्द्धन अभियान शुरु गरिएको छ । घोषित रुपमा शुरु गरिएको उक्त अभियान एक नमुना र अनुकरणीय रहेको स्थानीयवासीले बताउँछन् । विकासमा जनताको प्रत्यक्ष सहभागिता रहेमा मात्र भएका विकासको संरक्षण तथा प्रवर्द्धन हुने विश्वासको साथ उक्त अभियान चलाईएको बताइएको छ ।
उक्त अभियानले प्रत्येक शनिवार दुई घण्टा विकासको संरक्षण तथा प्रवर्द्धनमा सामाजिक सहयोग गर्न थालेको छ । विहान ७ बजेदेखी ९ बजेसम्म प्रत्येक शनिवार उक्त अभियान सञ्चालन गरिरहेको छ । शुरुवातको दिने गुण्डु चोकको सडक र दोस्रो हप्ता गुण्डुको पुरानो बसपार्क नजिक रानी खोला दोभानदेखी तार्केश्वर मन्दिरसम्मको बर्षातको भेलले पुरिएको कलभट तथा कुलो खोल्ने कार्य र उक्त एरियाको सरसफाइ गरिएको थियो । सडकको खाल्डाखुल्डी पुर्ने, खोला, कुलो तथा ढलको सरसफाई गरी भएका विकासलाई आफ्नो अपनत्व लिने गरी स्थानीयवासी जागरुक बनाउन थालिएको हो । भदौ ३ गते रक्षाबन्धनलाई लक्षित गर्दै आगामी शनिवार अभियानको तेस्रो हप्ता वडा नं. ७ र ४ को सीमानामा पर्ने अनन्तकुण्ड, अनन्तझुला तथा अनन्तलिङ्गेश्वरमा सरसफाई कार्यक्रम आयोजना गर्ने भएको छ ।
उक्त स्थानमा नेकपा (एमाले)को पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले विकासका धेरै कार्यहरुको शुरुवात समेत गर्नुभएको थियो । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अनन्तकुण्ड, अनन्तझुला, अनत्तलिङ्गेश्वर मन्दिरको प्रवर्द्धन, खुल्ला स्वीमिङ पुल, पार्क लगायतका विकासका ड्रिम प्रोजेक्टहरुको निर्माण प्रारम्भ गरिएको थियो । उक्त स्थान विशेष त हिन्दुधर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा समेत परिचित रहेको छ । पर्यटकीय क्षेत्रको उच्च सम्भावना बोकेको उक्त स्थानमा तीज, रक्षावन्धन तथा विभिन्न धार्मिक विश्वासका खास दिनहरुमा घुँईचो लाग्ने गर्दछ ।
जसले जनतालाई सचेत र जागरुक बनाइरहेको अभियान्ता दिनेश थापाले बताउनुभयो । ‘हप्तामा दुई घण्टा आफ्नो गाउँ आफै बनाऔं भन्ने लक्ष्यका साथ वडा नं. ७ का सम्पूर्ण विकास आयोजनाका संरक्षण तथा प्रवर्द्धन गर्ने महान् सामाजिक कार्यको शुरु गरेका छौं,’ उहाँले भन्नुभयो, ‘यो अभियान वडा भरि नै सञ्चालन हुनेछ र आगामी दिनमा नगरपालिकाभर लैजानुपर्छ । विकास हामीले तिरेको करेले सरकारले गर्छ तर त्यसको संरक्षण र सम्वद्र्धन भने हामी स्थानीयवासीले नै गर्नुपर्छ । सरकारलाई सहयोगीको भूमिका खेल्नुपर्छ ।’
राजनीतिक आस्थाका कारण विकासलाई समेत विगार्ने, भत्काउने तथा संरक्षण नगर्ने परम्परालाई तोड्दै सचेतनामूलक उक्त अभियानले सामाजिक चेतनाको व्यापक विकास गर्ने बताइएको छ । ‘विकासमा इगो हैन, दिगो बनाउने जिम्मेवारी हामी जनताको पनि हो । राजनीतिमा प्रतिष्पर्धा होला तर विकासमा सवैको ऐक्यवद्धता हुनुपर्छ । तसर्थः हामीले राजनीतिभन्दा माथि उठेर यो अभियान शुरु गरेका हौं ।’, अभियान्ता थापाले भन्नुभयो ।










प्रतिक्रिया दिनुहोस्