काठमाडौँ, २८ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गीण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताएका छन् ।
आज काठमाडौँमा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित युवा सम्मेलन, २०२४ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीयता, सूचना प्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पारे ।
उनले भने, ‘राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गरी युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिनिधित्व, खेलकुद तथा मनोरञ्जनलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्न जरुरी छ ।’
युवा जनशक्तिको कुरा गर्दा दिनानुदिन विदेश पलायन भइरहेको शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भीर बनेर आएको बताउँदै उनले हामीसँग यति धेरै प्राकृतिक सम्भावनाहरू छन्, तीनलाई समुचित ढङ्गले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौँतारिन नपर्ने बताए । “यसका लागि हाम्रा स्रोत र सम्भावना अनुरूपको सीप र लगनशीलताको निर्माण र राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकूल स्वाभिमानी र स्वावलम्बी भावनाको विकास आजको अनिवार्य आवश्यकता हो,”राष्ट्रपति पौडेलले भने ।
प्रतिक्रिया दिनुहोस्