शैक्षिक

सुन तस्करीको अभियोगमा एसएसपी खत्री पक्राउ



काठमाडौं, २३ माघ । ३३ किलो सुन तस्करीमा संलग्न रहेको भन्दै एसएसपी श्याम खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । ब्यूरोले प्रहरी प्रधान कार्यालयबाटै उनलाई आइतवार दिउँसो पक्राउ गरेको हो ।

केही समय अघि त्रिभूवन अन्तरराष्ट्रिय बिमानस्थलबाट बरामद सुन तस्करीका क्रममा उनको संलग्नता रहेको भन्दै खत्रीलाई पक्राउ गरिएको हो । तत्कालीन समयमा विमानस्थलमा रहेका खत्रीलाई सुन तस्करीकाण्डमा मुछिएपछि प्रधान कार्यालयमा तानिएको थियो ।

यसअघि सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसएसपी खत्री अनुसन्धानका लागि प्रहरी मुख्यालय तानिएका थिए ।

गत पुस २२ गते विमानस्थलभन्दा बाहिर ३४ किलो सुनसहित पक्राउ परेका अभियुक्तले दिएको बयानका आधारमा प्रहरी मुख्यालयले एसएसपी खत्रीलाई अनुसन्धान गर्न हेडक्वार्टर फिर्ता बोलाएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को आग्रहमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले खत्रीलाई विमानस्थलबाट फिर्ता बोलाएका थिए ।

ब्युरोको टोलीले पिंगलास्थानबाट ३४ किलो अवैध सुनसहित पक्राउ गरेका तीन अभियुक्तलाई संगठित अपराध अभियोगमा हिरासतमा राखी अनुसन्धान जारी राखेको छ ।