काठमाडौँ, २ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशको राजनीति पेचिलो अवस्थामा रहेको बताएका छन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले देशको राजश्वले चालु खर्च नधान्ने भइसकेको बताए ।
उनले भने, ‘देशको राजनीति बडो पेचिलो अवस्थामा छ । सबैभन्दा चिन्ता गर्नुपर्ने कुरा के छ भने हाम्रो राजश्वले चालु खर्च नधान्ने भइसकेको छ । एक अर्ब राजश्व उठ्दा दिनमा दुई अर्ब खर्च हुँदो रहेछ । राजश्व चालु खर्च नधान्ने अवस्था छ । अर्कातिर पुँजीगत खर्च जसका नाममा हामीले पुँजीलाई प्रवर्द्धन गर्नुपर्छ । पुँजी निर्माण गर्नुपर्छ । त्यो पुँजीगत खर्च भन्दा वित्तीय व्यवस्थापन खर्च भनेर हामीले लिएको ऋणको सावाँ ब्याज तिर्न नसक्ने र तिर्दा पनि पुँजीगत खर्च भन्दा बढी आकार भएको अवस्था छ । यो अवस्थामा हामी सबैले गम्भीर हुनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्