समाचार

पहिरोले घोडेपानी सडक अवरुद्ध



काठमाडौँ, ४ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक अवरुद्ध हुँदा पर्यटक र स्थानीयवासीलाई समस्या भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार–खिवाङ–शिख–चित्रे सडकअन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा पहिरोले सडक भत्काएपछि गत साउनदेखि घोडेपानीमा यातायात अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध हुँदा घुम्न आउने पर्यटक र स्थानीयवासीलाई आवतजावतका साथै होटल व्यवसायीलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको बताइएको छ ।

घोप्टेखर्कमा करिब १० मिटर सडकको डिलतर्फको भाग भत्किएपछि मोटरसाइकलबाहेक जिप, बस, ट्रक, ट्रयाक्टर वारपार गर्न सकेका छैनन् । पोखरेबगर–चित्रे–घोडेपानी सडकअन्तर्गत लुलीया र हल्लेखर्कको घुम्तीमा सडक भासिएपछि बस र ट्रक सञ्चालन हुनसकेको छैन ।