समाचार

बाढीले कञ्चनपुरमा डेढ अर्बको क्षति



काठमाडौँ, ७ भदौ । असार तेस्रो साताको बाढीबाट कञ्चनपुर जिल्लामा एक अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो । बाढी र डुबानबाट भएको क्षतिको मूल्यांकन गरेर कार्यालयहरुलाई विवरण पठाउन भने बमोजिम क्षतिको विवरण प्राप्त भएको हो । जिल्लाभर एक अर्ब ५७ करोड १० लाख २१ हजार ४२९ मूल्य बराबरको क्षति भएको छ ।  

कृषि क्षेत्रमा ६५ करोड ४० लाख ८३ हजार ५४६ बराबरको क्षति भएको छ । महाकाली सिँचाइ व्यवस्थापन कार्यालयमा २९ करोड २२ लाख, महाकाली सिँचाइ तेस्रो चरण कार्यालयमा दुई करोड ३२ लाख ५२ हजार ९००, सडक डिभिजन कार्यालयमा तीन करोड ८८ लाख ७० हजार, पूर्वाधार विकास कार्यालयतर्फ सात करोड १९ लाख ७५ हजार बराबरको क्षति भएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा २२ लाख, जनताको तटबन्ध कार्यालयको ४७ करोड ४२ लाख ८३ हजार ९ ८३, घरेलु तथा साना उद्योग कार्यालयको १७ लाख ६५ हजार, कृषि ज्ञान केन्द्रको ६५ करोड ४० लाख ८३ हजार ५४६ र पशुधनमा एक करोड २३ लाख ९१ हजार गरी जम्मा एक अर्ब ६७ करोड १० लाख २१ हजार ४२९ रुपैयाँ बराबरको क्षति भएको छ । बाढीका कारण कञ्चनपुरमा चारजनाको मृत्यु भएको थियो ।