राजनीति

प्रहरीले जनताको मुद्दा बोक्नुपर्छ : गृहमन्त्री लेखक



काठमाडौँ, १० भदौ । गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको उद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरूको मुद्दा पनि सँगै आउने बताएका हुन् । नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउने बताए । सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताए ।

लेखकले भने, ‘प्रहरी साथीहरूलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नुपर्‍यो । जनताको मुद्दा बोक्दा आफ्नो मुद्दा पनि आइहाल्छ । यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठुलो सहयोग गर्नेछ । जनताले उचित सेवा पाउन सकुन् । सरकारले सेवा प्रदान गर्ने क्रममा महत्त्वपूर्ण सेवा प्रदान प्रहरीले गर्ने हो ।’