राजनीति

सांसद खतिवडाले सोधे –ट्राफिक प्रहरीको काम दुर्घटना न्यूनिकरण हो कि राजस्व संकलन



भक्तपुर, १० भाद्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले भने –ट्राफिक प्रहरीले सवारी दुर्घटनाको रोकथाममा भन्दा राजस्व सङ्कलनमा बढी ध्यान दिइरहेको व्यवहारमा देखिएको छ । उनले भने– ट्राफिक प्रहरीले यात्रुहरूलाई जहाँतहीँ रोक्ने, चेक गर्ने, लुकेर बसेर चेकजाँच गर्ने जस्ता क्रियाकलापले दुर्घटनाको जोखिम बढाएको छ, यस्तो पद्धति तत्काल रोक्न आवश्यक छ।

खतिवडाले भने –भोली फेरी हाम्रो प्रतिस्पर्धा कांग्रेसको एमालेसंग हुन्छ र एमालेको कांग्रेससंग नै हुन्छ भन्ने कुरा एमालेका अध्यक्ष केपी ओलीलाई पनि थाह छ । त्यो हाम्रो पार्टी सभापति शेरवहादुर देउवालाई पनि थाह छ । तैपनि हामीले मिलेर सरकार बनाएका छौ ।

साना राजनीतिक पार्टीहरूले देशलाई अस्थिरतामा धकेल्ने प्रयास गरेको भन्दै उनले भने– कांग्रेस र एमालेबीचको सहकार्यले राजनीतिक स्थिरता ल्याएको र जनतामा आशा जगाएको छ भने । उनले थपे– त्यसोत केही नयाँ पार्टीहरुले मिसन ०८४– ०८४ भनिराखेका छन । उनीहरु आउने कुरालाई हामी नाई भन्दौनौ । उनीहरु मात्रै होइन, उनीहरु भन्दा नयाँ आए पनि हामी स्वागत गर्नेछौ । तर हामी देख्यौ नयाँ जोगीहरु खरानीमात्रै धस्ने भए काम गर्ने भएनन । वोल्ने मात्रै भए ।

नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको साक्षात्कार कार्यक्रममा विषय उठान पत्रकार महासंघ भक्तपुरका पूर्व सभापति पुष्कर बुढाथोकीले गरेका थिए भने संचालन सोसाइटीका महासचिव केशव लुइँटेलले गरेका थिए ।