समाचार

देशभर डेंगु सङ्क्रमितको संख्या ५ हजार ५८९ जना पुग्यो



काठमाडौँ, १४ भदौ । देशभर २७ अगस्ट सम्ममा डेंगु सङ्क्रमितको संख्या  ५ हजार ५८९ जना पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार तनहुँ र कास्की जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित देखिएका छन् । तनहुँमा १ हजार ६७ जना र कास्कीका ५३६ जनामा डेंगु सङ्क्रमित देखिएका हुन् ।

देशभर २३ अगस्टसम्म ५ हजार ११९ जनामा डेंगु सङ्क्रमण भएको थियो । त्यसपछि ४७० जना थपिएर अगस्ट २७ सम्ममा ५ हजार ५८९ जना सङ्क्रमित भएका हुन् ।

देशभर ७७ मध्ये हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको ईडीसीडीले जनाएको छ ।माघ महिनायता डेंगु सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् ।