भक्तपुर, १४ भदौ । उपत्यका विकास प्राधिकरण भक्तपुरका जिल्ला आयुक्त कृष्ण कुमार महर्जनले पालिकाले कुनै पनि अवस्थामा जग्गा प्लानिङ्ग गर्न सिफारिस दिन नमिल्ने बताउनुभएको छ ।
नेपाल प्रेस सोसाइटीले शुक्रबार सूर्यविनायकमा आयोजना गरेको “प्लटिङले उठाएका सवाल र जिल्ला आयुक्तसँग साक्षात्कार” कार्यक्रममा महर्जनले पालिकाले प्लानिङ्गको सिफारिस गर्दा मापदण्ड पुरा नभएको खण्डमा त्यो मान्य नहुने स्पष्ट पारेका छन् ।
महर्जनले भने, “पालिकाले यो गैर कृषि क्षेत्र हो, यहाँ प्लटिङ/प्लानिङ्ग गरिदिनु भन्दैमा प्लानिङ्ग हुदैन । मापदण्ड पुरा नभई सिफारिस गर्न मिल्दैन ।” उनले मापदण्डको पालना नगरिकन प्लानिङ्गको सिफारिस गर्नु गलत हुने र यसले दीर्घकालीन असर पार्न सक्ने भन्दै पालिका तथा अन्य सम्बन्धित निकायहरुलाई जिम्मेवार भएर काम गर्न आग्रह गरे ।
महर्जनले थप रूपमा प्लानिङ्ग र प्लाटिङ्गको मापदण्डलाई बेवास्ता गर्दै अवैध रूपमा भूमि प्लाटिङ्ग गर्ने हरुलाई कानूनी दायरामा ल्याउने विषयमा जोड दिए । यस प्रकारको अवैध क्रियाकलापले नजिकको भूभाग र जनताको दीर्घकालीन सुरक्षामा गम्भीर प्रभाव पार्न सक्ने भन्दै यस्ता गतिविधिहरुमाथि कडा निगरानी राख्न र आवश्यक परे कडा कारबाही गर्ने तयारी भइरहेको जानकारी दिए ।
आयुक्त महर्जनले भक्तपुर जिल्लामा तीव्र रूपमा बढिरहेको प्लानिङ्ग र प्लाटिङ्गको अवस्थाबारे पनि चिन्ता व्यक्त गरे । विशेषगरी, चाँगुनारायण नगरपालिकामा १४३ स्थानमा, मध्यपुर थिमी नगरपालिकामा ११ स्थानमा र सूर्यविनायक नगरपालिकामा ३६ स्थानमा अहिले प्लानिङ्गका कार्यहरु भईरहेका छन् । महर्जनले यी स्थानहरुमा मापदण्ड विपरीत भइरहेको प्लानिङ्गको कार्यलाई तत्काल रोक्न र यसबारे विस्तृत छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने आवश्यकता औंल्याए ।
प्रतिक्रिया दिनुहोस्