राजनीति

संविधानको मर्म र नियुक्तिसम्बन्धी निर्देशिकालाई आधार बनाएर राजदूत सिफारिस : मन्त्री राणा



काठमाडौँ, १८ भदौ । परराष्ट्रमन्त्री आरजु राणाले संविधानको मर्म र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाएर राजदूत सिफारिस गरिएको बताएकी छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिको मंगलबारको बैठकमा आफ्नो भारत भ्रमण र राजदूत सिफारिसका विषयमा जवाफ दिने क्रममा मन्त्री राणाले राजदूत नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, कार्यसम्पादनमा आधारित बनाउन वर्तमान सरकार प्रयासरत रहेको बताइन् ।

उनले भनिन्,  “नेपालको संविधानको धारा २८२ अनुरूप राजदूत नियुक्ति गर्ने तथा सोका लागि राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ दफा ८ को (ग) बमोजिम राजदूतहरूको सिफारिस गर्ने व्यवस्था प्रचलनमा रहेको छ,” “संविधानको मर्म र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाई राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्यसम्पादनमा आधारित बनाउन यो सरकार अधिकतम रूपमा प्रयासरत छ र रहनेछ ।”

राजदूत नियुक्त गर्दा कम्तीमा ५० प्रतिशत परराष्ट्र सेवाबाट गर्ने नीतिलाई निरन्तरता दिइएको उनले उल्लेख गरिन् ।