काठमाडौँ, १८ भदौ । गृहमन्त्री रमेश लेखकले सबै राजनीतिक दलको सहमतीका आधारमा संविधान संशोधन गरिने बताएका छन् ।
आज प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले आधारभूत विषयमा कुनै खालको प्रतिरोध नहुनेगरी सबै राजनीतिक दलको सहमतिका आधारमा संविधान संशोधन गरेर अघि बढ्ने बताएका हुन् ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गरेर समावेशी चरित्रको राज्य निर्माणका लागि संविधान संशोधन गछौँ। संविधानका आधारभूत विषय छन् । त्यसमा कुनै प्रतिरोध नहुनेगरी समावेशीता, थप सुदृढ, बलियो र जनताका लागि कार्यान्वयन हुनेगरी संविधानको संशोधन हुन्छ, ‘संविधानको अभ्यासका क्रममा देखिएका सरलता र जटिलता समिक्षा गरेर मात्र संविधान संशोधन हुन्छ ।’
तर, एक वा दुई पार्टीको चाहानाले नभएर चरणबद्ध छलफल गरेर सबै राजनीतिक दलको सहमतीका आधारमा संशोधन गरीने उनको भनाई थियो । ‘पहिलो चरणमा ९/१० वर्षसम्म संविधानको जुन अभ्यास गरेका छौँ । त्यसको समिक्षा गछौँ। के–के राम्रा भए ? कहाँ कहाँ जटिलता भए समिक्षा गछौँ । त्यसले विषयवस्तु पहिचान हुन्छ,’ उनले भने, ‘विषयवस्तु पहिचान भइसकेपछि ती माथी सबै दलसँग संवाद गछौ। सबै दलसँग संवाद गरेपछि सहमतीका आधारमा संविधान संशोधन हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्