राजनीति

उपलब्धि रक्षार्थ एमालेसँग सहकार्य: सभापति देउवा



काठमाडौँ, २० भदौ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा चुनौतीपूर्ण परिस्थिति आएपछि मुख्य प्रतिस्पर्धी नेकपा (एमाले) सँग मिलेर सरकार बनाइएको प्रस्ट पार्नुभएको छ । 

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसमा आयोजित समारोहलाई बुधबार सम्बोधन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था, बहुदलीय लोकतन्त्र र सम्पूर्ण उपलब्धि रक्षार्थ एमालेसँग सत्ता सहकार्य गरेको बताउनुभएको हो । सभापति देउवाले गणतन्त्र र बहुदलीय प्रणालीमा मतभेद नरहेको, परिवर्तनबाट प्राप्त उपलब्धिका सन्दर्भमा कांग्रेस–एमालेको एउटै धारणा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कांग्रेस र एमालेबिच मतभेद होलान् । यो व्यवस्थाको विषयमा कुनै मतभेद छैन ।  मुख्य प्रतिस्पर्धी हौँ कांग्रेस र एमाले । कतिपय समस्या आउन सक्छन् । समस्याको समाधान गर्नु पनि हाम्रो कर्तव्य हो । मलाई विश्वास छ, ओलीजी र म मिलेर यो समस्याको समाधान गर्ने छौँ ।”