Banner News

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओलीले असोज १० मा सम्बोधन गर्ने



काठमाडौँ, २४ भदौ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा भोलिदेखि  सुरु हुँदै छ ।

‘कसैलाई पनि पछाडि नछाडौँ : वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य’ भन्ने नाराका साथ संयुक्त राष्ट्रसंघको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा हुने भएको हो ।

राष्ट्रसंघको महासभा भोलिदेखि सुरु हुने भए पनि उच्चस्तरीय साधारण छलफल भने आउँदो असोज ८ गतेदेखि गरिनेछ । उक्त छलफल असोज १२ गतेसम्म गरिने र समापन असोज १४ मा हुने कार्यतालिकामा उल्लेख छ ।

नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० मा महासभालाई सम्बोधन गर्ने राष्ट्रसंघको कार्यतालिकामा उल्लेख छ ।

विश्वव्यापी रूपमा देखापरेको युद्धको जटिल अवस्था र यसले पारेको असर, कोरोनापश्चात्को मूल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकूलता, खाद्य संकटलगायत विषयलाई केन्द्रमा राखेर विभिन्न चरणमा गरिने छलफलमा विश्वका राष्ट्र/सरकार प्रमुखले महासभामा भाग लिनेछन् ।