कालिकोट, २३ साउन । कालिका–१ भर्ता छाती गाउँकी १६ वर्षीया मनपुरा विश्वकर्माको पेटमा आठ महिनाको गर्भ छ । कक्षा ४ सम्म पढेकी मनपुरालाई गर्भ जाँच चार पटक गराउनुपर्छ भन्ने जानकारी छैन । आइरन चक्की, जुकाको औषधि, खोपबारे पनि उनी बेखबर छिन् ।
१५ वर्षको उमेरमा विवाह गरेर गर्भवती भएपछि १९ वर्षीय पति कल विकसँगै नागरिकता बनाउन मान्म आएकी मनपुरा आफैं बालिका हुन् । उचाइ ४ फिटभन्दा कम छ । शारीरिक रूपले कमजोर देखिन्छिन् । माइतीमा भाइबहिनी धेरै भएकाले छिट्टै विवाह गरिदिएको सुनाउने मनपुरासँग भविष्यको कुनै योजना छैन ।
‘छोरीको भाग्य (कर्म) यइथै (यस्तै) हो, ज्या (जे) भया होला,’ उनले स्थानीय लवजमा भनिन् । सात भाइबहिनीमध्येकी जेठी मनपुरा जन्मँदा उनकी आमा त झन् १५ वर्षकी मात्र थिइन् । अहिले ३१ वर्षकी भइन् । मनपुराका पति चार भाइमध्येका जेठा हुन् । कक्षा ८ सम्म पढेर विद्यालय छाडेका उनी ज्याला मजदुरीका लागि दुई पटक भारत पुगिसकेका छन् ।
घरमा काम गर्ने कोही नभएकाले सानैमा बालविवाह गरेको उनले सुनाए । पत्नी दुई जीउकी रहेकीले अहिले भारत नगएको उनी सुनाउँछन् । कालिका–१ छाती गाउँकै शर्मिला सुनार १८ वर्षकी भइन् । उनको काखमा ११ महिने छोरा छ ।
दुई वर्षअघि विवाह गरेकी शर्मिलाले पनि ४ कक्षा मात्र पढेकी छन् । गएको स्थानीय तहको चुनावमा मतदाता सूचीमा नाम नभएकैले उनलाई कसैले वास्ता गरेनन् । त्यसैले नागरिकता बनाएर मतदाता सूचीमा नाम लेखाउन पति ज्योतिसँगै मान्म आएकी शर्मिलाको व्यथा पनि मनपुराको जस्तै छ । दलित र जनजातिको बस्ती रहेको छाती गाउँमा मात्र नभएर कालिकोटका अधिकांश किशोरीको कलिलै उमेरमा विवाह हुने गरेको छ । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्