राजनीति

काठमाडौँ महानगरद्वारा १२ सयभन्दा बढी विपन्न नागरिकको उपचारका लागि सिफारिस



काठमाडौँ, २६ भदौ । काठमाडौँ महानगरपालिकाले एक वर्षमा १२ सयभन्दा बढी  विपन्न नागरिकको उपचारका लागि सिफारिस गरेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा महानगरले १ हजार २५० जना विपन्न नागरिकको उपचारका लागि सिफारिस गरेको हो । 

यस्तै, महानगरले गत वर्ष १ लाख २५ हजार २०६ जनालाई परिवार नियोजन, नियमित खोप, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन जस्ता सेवा प्रदान गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षामार्फत जनाएको छ ।

महानगरका अनुसार २ हजार ९१० जनालाई पूर्ण खोप प्रदान गरिएको छ । यस्तै, ४ हजार ४६६ जनाको पोषण लेखाजोखा गरिएको उल्लेख छ । यस्तै, ८५४ जना क्षयरोग लागेका विरामीलाई डट्स विधिबाट औषधी प्रदान गरिनुका साथै ६ हजार ६२४ जनाको एचपिभी डिएनए प्रविधिबाट पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ । यस्तै, १ हजार ४३३ जनालाई निःशुल्क रगत तथा रक्त तत्त्व उपलब्ध समेत गराएको छ ।