विश्व

ह्यारिससँगको दोस्रो बहस ट्रम्पद्वारा अस्वीकार



एजेन्सी, २८ भदौ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनअघि डेमोक्रेटिक पार्टीकी प्रतिद्वन्द्वी कमला ह्यारिससँग दोस्रो राष्ट्रपतिको बहस गर्ने सम्भावनालाई अस्वीकार गरेका छन् ।

दुई दिनअघि पेन्सिलभेनियाको फिलाडेल्फियामा दुईबिचको पहिलो राष्ट्रपतिको बहस भएको थियो । आफूले यो बहस स्पष्ट रूपमा जितेकोले कमलाले पुनः बहसमा आउन चाहेको उनले भनेका छन् ।

तर बहसमा ह्यारिस ट्रम्पमाथि हाबी भएकी थिइन् । मंगलबारको बहस पछि तुरुन्तै आयोजित धेरै सर्वेक्षणहरूमा सहभागी भएका मतदाताहरूले ह्यारिसले ट्रम्पकोभन्दा राम्रो प्रदर्शन गरेको बताएका छन् । बहसमा उत्रिनु भन्दा  ह्यारिसले उपराष्ट्रपतिको रूपमा आफ्नो काममा ध्यान दिनुपर्ने ट्रम्पले भनेका छन् । 

उत्तरी क्यारोलिनामा चुनावी अभियानको र्‍यालीको केही समयपछि ह्यारिसले मतदाताहरूका लागि अर्को बहसको जिम्मेवारी आफूसँग रहेको बताएकी थिइन् । जनताबाट लिइएको रायले दुई उम्मेदवारबिच निकै कम भिन्नता रहेको देखाउँछ ।