Banner News

मौलिक भाषा मास्ने षड्यन्त्र स्वरुप हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोजिएको छः नेता खनाल



चितवन, २३ माघ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले तीन तहको निर्वाचन सम्पन्न गरेपछि बन्ने नयाँ संसद्ले मात्रै संविधान संशोधन गर्नसक्ने बताएका छन् ।
नेकपा एमाले चितवनले आयोजना गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रस्तावित संविधान संशोधन विधेयक राष्ट्रको हितमा नभएको बताए।
वरिष्ठ नेता खनालले कुनै पनि हालतमा संविधान संशोधन विधेयक पारित हुन नदिने बताउँदै संविधान कार्यान्वयनतर्फ सबै दल लाग्नुको विकल्प नभएको धारणा व्यक्त गरेका छन् ।

आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्न नसके देशमा लोकतन्त्र, संविधान र राजनीतिक व्यवस्था नै सङ्कटमा पर्ने चर्चा गर्दै उनले देशको राष्ट्रिय एकता, स्वाभिमान र अखण्डतालाई कसैले कमजोर पार्न नहुने बताए ।

वरिष्ठ नेता खनालले निर्वाचन र संविधान कार्यान्वयन गर्नेतर्फ वर्तमान सरकार उदासिन देखिएको बताउँदै आयु लम्ब्याउनेतर्फ मात्रै सरकार उद्धत रहेको आरोप लगाए ।
हिन्दी भाषा कहिल्यै पनि नेपालको राष्ट्रिय भाषा हुन नसक्ने दावी गर्दै उनले यहाँका मौलिक भाषा मास्ने षड्यन्त्र स्वरुप हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोजिएको छ भने ।