समाचार

जापानिज इन्सेफ्लाइटिसविरुद्धको खाेप लगाउन आग्रह



काठमाडौँ, ३० भदौ । यस वर्ष जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार ६१ जनामा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण पुष्टि भएकोमा छ ।

यसपालि गएको वर्षको भन्दा सङ्क्रमण घटेको भए पनि ज्यान गुमाउने दर उच्च देखिएको हो । अघिल्लो वर्ष एक सय सात जनामा सङ्क्रमण पुष्टि भएकोमा सात जनाको ज्यान गएको थियो ।

नेपालमा भदौको मध्यदेखि असोजको मध्यसम्मलाई जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम भएको समय मानिन्छ । जापानिज इन्सेफलाइटिस भाइरस क्युलेक्स लामखुट्टेले सार्छ । यो रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन् ।

सङ्क्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे शुरूमा आफू सङ्क्रमित हुन्छ र त्यसले टोक्दा मानिसमा सङ्क्रमण सर्छ । जापानिज इन्सेफलाइटिस भाइरस पनि डेङ्गी, येलो फिभर र वेस्ट नाइल भाइरसहरूको वर्गमै पर्छ ।

उच्च ज्वरो आउनु, मुर्छा पर्नु, घाँटी अररो हुनु, बोल्न नसक्ने अवस्थामा पुग्नु, शरीर अनियन्त्रित भएर कामिरहनु, मांसपेशी कमजोर हुनु वा पक्षाघात हुनु यो रोगका लक्षण हुन् । यो रोगको छुट्टै उपचार छैन । रोगका लक्षणअनुसार बिरामीको उपचार गरिन्छ । धेरैजसो १५ वर्षमुनिका बालबालिकामा यो रोग देखिन्छ ।

सरकारले सन् २०१६ देखि नै १२ महिना उमेरका बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप निःशुल्क लगाउने गरेको छ । खोप लगाएमा इन्सेफ्लाइटिसको सङ्क्रमण भइहालेमा पनि जटिलता र मृत्यु नहुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताउनुभयो । उहाँले आफ्ना बालबालिकालाई नछुटाई खोप लगाउन पनि आग्रह गर्नुभयो ।