समाचार

ग्रह गणना र आकाशीय ग्रह अवस्था मिलाउने बहस सुरु



काठमाडौँ, ३१ भदौ । पञ्चांग (पात्रो) गणना गर्दा आएको गणित र आकाशमा देखिने ग्रहस्थितिबीच फरक पर्न थालेपछि गणना पद्धति परिवर्तन गर्ने विषयमा बहस सुरु भएको छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले हाल सूर्य सिद्धान्त नामक ज्योतिष शास्त्रको ग्रन्थका आधारमा गणना गरिएका पात्रोलाई स्वीकृति दिने गरेको छ । सूर्य सिद्धान्तअनुसार गणना गर्दा ग्रहण, ग्रहयुति, ग्रहको उदय अस्तलगायत विषयमा मेल हुन छोडेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।  

केतकी ग्रह गणितका आधारमा पञ्चांग गणना गर्ने कि भन्ने विषयमा समितिले बहस सुरु गरेको उनले जानकारी दिए । केतकी ग्रह गणितअनुसार ग्रहण, ग्रहयुति, ग्रहको उदय अस्तलगायत विषयमा गणित र आकाशीय ग्रह स्थितिमा फरक नपर्ने भनी बहस सुरु भएको हो । 

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल गणना र आकाशीय ग्रह अवस्थाका बारेमा देखिएका समस्या सकेसम्म हटाउने, हटाउन नसके घटाउने गरी ग्रहगणना विधि स्थापित गर्न अध्ययन भइरहेको बताए ।