समाचार

आजदेखि मनकामना केबलकार ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने



काठमाडौँ, १ असोज । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ ।

मनकमना दर्शन प्रालिद्वारा सञ्चालित  नेपालको पहिलो ‘केबलकार’ अब   ‘डिजिटल’  प्रविधिमा सञ्चालन हुने छ ।  

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द  गरिएको थियो ।

२६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको हो । 

अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रुपान्तरण गर्ने काम सम्पन्न भएको उनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो । यस केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा छ ।