वीरगन्ज, २४ माघ । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जबाट हराएको नवजात शिशुलाई प्रहरीले ४८ घन्टाभित्र फेला पारेको छ ।
गत शुक्रबार हराएको शिशुलाई प्रहरीले आइतबार दिउँसो १ बजे बेल्वा गाविस–९ स्थित बिन्देश्वर साह कानूको घरमा फेला पारी उद्धार गरेको हो । प्रहरीका अनुसार बिन्देश्वरकी छोरी लालसादेवीले अस्पतालबाट नवजात बालक चोरेकी थिइन् ।
सन्तान नभएकाले बच्चा चोरी
पर्सा भिष्वा घर भई हाल माइती बस्दै आएकी २२ वर्षीया लालसाले आफ्नो छोराछोरी नभएकाले बच्चा चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पाँच वर्षअघि विवाह भए पनि उनको अहिलेसम्म सन्तान छैन । छोराछोरी नभएपछि माइत बसेर उनले नवजात शिशु चोर्ने योजना बनाएको प्रहरीको भनाइ छ ।
उनले एक महिनादेखि अस्पताल गई मौका हेरिरहेको र शिशुलाई खेलाउने बहानामा चोरेको प्रहरीले जनाएको छ । प्रहरीले लालसालाई पक्राउ गरेर अपहरण तथा शरीर बन्धक अभियोगमा छानबिन अघि बढाएको छ ।
मध्यक्षेत्रीय प्रहरी निर्देशनालयका नायव प्रहरी महानिरीक्षक पशुपति उपाध्यायले छानबिन चलिरहेकाले अहिले नै सबै कुरा नमिल्ने बताए । अस्पतालको पनि लापरबाही देखिएको उनको भनाइ छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्दकुमार शाहले अस्पताल क्षेत्र संवेदनशील बन्दै गएकाले सुरक्षा व्यवस्था बढाउने जानकारी दिए ।
शिशुको अवस्था सामान्य
उद्धार गरिएको शिशुलाई नारायणी उपक्षेत्रीय अस्पतालको एनआइसियू, सघन उपचार कक्षमा राखेर उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले बताए ।
‘बच्चाको अवस्था नर्मल छ,’ उनले भने । उपचारमा संलग्न चिकित्सक डा। सैलेश ठाकुरले शिशुको अवस्था स्थिर रहेको बताए । ‘बच्चा हामीकहाँ आइपुगेदेखि एनआइसियूमा राखेर उपचार भइरहेको छ । सामान्य इन्फेक्सन देखिएको छ, अरू ठीक छ,’ उनले भने । नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्