समाचार

सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता



काठमाडौँ, २ असोज । बझाङको सेती नदीमा ट्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार आज बिहान दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट झनानातर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन् भने तीनजना घाइते भएका छन् ।

जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढाले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टर ५० मिटर तल सेती नदीमा खसेको बताउँदै चालकसहित एकजना बेपत्ता भएको हो ।  

ट्याक्टर नम्बर र बेपत्ता भएका अर्का व्यक्तिको नाम खुलेको छैन । अहिले घटनास्थलमा घाइतेको उद्धार गरेको र बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।