समाचार

मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु



काठमाडौँ, ३ असोज । दाङको घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय लमहीका अनुसार मोटरसाइकल चालक घोराहीको नवलपुर बस्ने २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही ४ बस्ने २१ वर्षीय विनोद केसीको मृत्यु भएको हो ।

लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकलमा सवार उनीहरु आज बिहान करिब सवा सात बजे लमही नगरपालिका–६ बेलदमारमा दुर्घटनामा परेका थिए ।

मुख र टाउकोमा चोट लागेर बोल्न नसक्ने अवस्थामा फेला परेका उनीहरुलाई प्रहरीले लमही अस्पतालमा ल्याएको थियो । चिकित्सकहरुले उनीहरुको मृत्यु भएको पुष्टि गरेका थिए ।