राजनीति

शासन व्यवस्थालाई सुदृढीकरण गर्दै विकासको मार्गमा लैजानुपर्छ : मुख्यमन्त्री शाह



काठमाडौँ, ३ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढीकरण बनाउँदै देशलाई विकास र समृद्धिको मार्गमा लैजानुपर्नेमा जोड दिएका छन् ।

आज धनगढीमा आयोजित संविधान दिवस तथा राष्ट्रिय एकता दिवस समारोहमा उनले संविधान जारी भएसँगै मुलुक दिगो शान्ति, विकास र समृद्धिको मार्ग गएको बताए ।

संविधान दिवस मूल समारोह समितिका संयोजकसमेत रहेका मुख्यमन्त्री शाहले भने, “संविधानले निर्दिष्ट गरेको बाटोमा हिँड्न सबैबिच सहकार्य र समन्वय आवश्यक छ । मुलुकको समग्र विकास गरी जनतामा आशा जगाउन सबै दलबिच आपसी एकता र समन्वय जरुरी छ ।” 

आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले संविधान जारी भएसँगै नागरिकको राजनैतिक अधिकारका लागि गरिने सङ्घर्षको चरण पूरा भएको बताए । उनले आगामी दिनमा प्रदेशलाई आर्थिक, भौतिक, सामाजिक न्यायको समृद्धिमा लैजाने दायित्व प्रदेश सरकारको रहेको बताए ।