समाचार

आजदेखि जितिया पर्व सुरु



काठमाडौँ, ७ असोज । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि सुरु भएको छ ।

श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरि आज ओंगठन, मङ्गलबार जितिया व्रत र बुधबार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख रहेको छ ।

तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मङ्गलबार बिहान ४ बजेदेखि दिनभरि र रातभरि तथा बुधबार दिनभरि उपवास बस्नुपर्ने छ भने बुधबारकै दिन साँझ ५ः१५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको जलेश्वरनाथ महादेव मन्दिरका पुजारी पण्डित उपेन्द्र पाठकले बताए ।

व्रत (उपवास) बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन देवता र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रुपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसैगरी, मङ्गलबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी बुधबार साँझ ५ः१५ बजे व्रत सम्पन्न गर्नेछन् ।