राजनीति

जीबी र रवि नै प्रमुख जिम्मेवार हुन् : पूर्वडीआईजी जोशी



कास्की, ७ असोज । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीले सहकारीको रकम अपचलन प्रकरणमा तत्कालीन गृहमन्त्री रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी) नै प्रमुख जिम्मेवार रहेको बताएका छन् ।

आइतबार पक्राउ परेका जोशीले कास्की प्रहरीको प्रारम्भिक बयानका क्रममा सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याउने र खर्च गर्ने भूमिकामा लामिछाने र राईकै भूमिका प्रमुख रहेको बयान दिएका हुन् । जोशीमा थुनामा राखेर अनुसन्धान गर्न कास्की प्रहरीले पहिलोपटक पाँच दिनको म्याद पाएको छ । जोशी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई आइतबार नै पोखरा पठाइएको थियो । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक समेत रहेका जोशीमाथि तीनवटा कसुरमा अनुसन्धान गर्नुपर्ने माग प्रहरीले गरेको छ । कास्की प्रहरी स्रोतका अनुसार, जोशीले बयानमा भनेका छन्,‘‘सहकारीको रकम अपचलनमा मेरो कुनै संलग्नता छैन । रवि र जीबी नै जिम्मेवार हुन् ।’’

प्रहरीका अनुसार, जोशीकै बयानका आधारमा रवि लामिछानेमाथि समेत पक्राउ अनुमति लिने कास्की प्रहरीको तयारी छ । जीबी राईमाथि भने गएको वर्ष नै पक्राउ पुर्जी जारी भएको थियो ।