राजनीति

हामी असल छिमेकी हुन चाहन्छौँ : प्रधानमन्त्री ओली



अमेरिका, ८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल असर छिमेकी हुन चाहेको बताएका छन् ।

अमेरिकाको न्युयोर्कमा रहेको कोलम्बिया विश्वविद्यालयमा ‘वर्ल्ड लिडर्स फोरम’ अन्तर्गत ‘नेपालको लोकतन्त्र र आर्थिक सम्बृद्धिको बाटो’ का विषयमा प्रस्तुति दिँदै प्रधानमन्त्री ओलीले नेपालले छिमेकीविरुद्ध केही पनि नगर्ने उल्लेख गरेका हुन् । उनले भने,‘हामी राम्रो छिमेकी हुन चाहन्छौं । खराब होइन । हामी कतै पनि ढल्कन चाहन्नौं ।’ 

प्रधानमन्त्री ओलीले नेपालको दुई छिमेकीसँग लामो समयदेखि सम्बन्ध रहेको उल्लेख गरे । ‘हाम्रो इतिहासदेखि नै जनस्तरमा सम्बन्ध रहँदै आएको छ । हाम्रो दुवै छिमेकीसँगको मित्रता ध्वस्त पार्न सकिन्न,’ उनले भने,‘दुई जना साथीहरू सँगै सुत्दा खुट्टा तलमाथि पर्न सक्छ । तर उनीहरू फरक–फरक सुत्दा समस्या हुँदैन । परिवारमा सानातिना समस्या हुन सक्छ । तर त्यो ठूलो होइन । छिमेकबीचको सम्बन्ध पनि त्यही हो ।’

प्रधानमन्त्री ओलीले कसैले पनि छिमेकीलाई बदल्न नसक्ने प्रष्ट पारे । ‘हामी छिमेकी बदल्न सक्दैनौं । नेपालको छिमेकीहरुले पनि उनीहरुका छिमेकी बदल्न सक्दैनन्,’ उनले भने,‘जे–जस्ता समस्याहरू छन्, त्यसलाई छलफल र संवादको माध्यममार्फत गर्नु पर्छ । त्यो गर्दा तथ्य र प्रमाणहरूलाई हेरेर गर्नु पर्ने हुन्छ ।’ ओलीले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रियता जस्तो विषयमा भने कुनै पनि सम्झौता नहुने उल्लेख गरे ।